असार २३, काठमाडौं ।
सत्तारूढ तीन दलले प्रमुख प्रतिपक्षि एमालेलाई पनि साथमा लिएर संबिधान संशोधन विधेयक अघि वढाउने सहमति गरेका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र राष्ट्रिय जनता पार्टी राजपा नेपालको बैठकले संसदमा रहेको संविधान संशोधन विधेयक अगाडि बढाउने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले राजपाले संशोधन पारितका लागि आग्रह गरेको र कोशिश गर्ने समझदारी भएको जानकारी दिए ।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राजपालाई चुनावमा ल्याउनका लागि संविधान संशोधनको प्रयास गर्ने समझदारी भएको र सकेसम्म यहि महिना भित्रै संशोधन हुने बताए ।
शुक्रबारै निर्वाचन आयोगमा दल दर्ता गरेर बालुवाटार पुगेका राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन अगाडि बढाउने समझदारी भएको पत्रकारहरुलाई जानकारी दिए ।
उनले संविधान संशोधन विना यथास्थितिमा प्रदेश २ को निर्वाचनमा भाग नलिने अडान कायम रहेको स्पष्ट गरे ।
अघिल्ला बैठकमा भन्दा राजपाका नेताहरु सकारात्मक र नरम रुपमा प्रस्तुत भएको सहभागीहरुले बताएका छन ।