२५७ तहको नतिजा सार्वजनिक, घोराही जितेर एमालेले उपमहानगरमा पनि खाता खोल्यो

0

असार १९, काठमाडौं ।
दोस्रो चरणको स्थानीय निर्वाचन भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये २५७ तहको परिणाम सार्वजनिक भएको छ ।
२० जिल्लाका सबै स्थानीय तहको मतगणना सकिएको छ ।
एमालेले प्रदेश नम्बर १ मा ५०, प्रदेश ५ मा २९ र प्रदेश ७ मा ३३ स्थानीय तह जितेर १ सय १४ स्थान सुरक्षित गरिसकेको छ ।
कांग्रेस ९८ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले सोमबार बेलुकासम्म प्रदेश नम्बर १ मा ३४, प्रदेश ५ मा २८ र प्रदेश ७ मा ३६ स्थानीय तह जितेको छ ।
माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १६ र प्रदेश ७ मा ७ स्थानीय तह जितेर ३१ सिटसहित तेस्रो स्थान सुरक्षित गरेको छ ।

यस्तै, संघीय समाजवादी फोरमले प्रदेश नम्बर ५ मा ५ र प्रदेश नम्बर १ मा एक स्थानीय तह जितेर ६ सिटसहित चौथो स्थानमा रहेको छ ।

फोरम लोकतान्त्रिकले प्रदेश नम्बर १ मा २, ५ मा १ र ७ मा एक स्थानीय तह जितेर ४ सिटसहित पाँचौं स्थानमा रहेको छ ।
राष्ट्रिय जनमोर्चा र राप्रपाले दुईरदुई स्थानीय जितेका छन् भने राष्ट्रिय जनता पार्टीका स्वतन्त्र उम्मेदवारले एक स्थान जितेका छन् ।
एमालेले उपमहानगरमा पनि खाता खोल्यो
नेकपा एमालेले उपमहानगरपालिकामा पनि खाता खोलेको छ ।
दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयर दुबैमा एमाले विजयी भएको हो ।
एमालेका नरुलाल चौधरी २२ हजार ३० मत ल्याएर मेयरमा निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४ सय ८४ मत प्राप्त गर्नुभयो ।
उपमेयरमा एमालेकै सीता न्यौपाने २० हजार ७ सय ९२ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका पुष्पा श्रेष्ठ १७ हजार ६ सय ३ मत पाए ।
यस्तै, इटहरी, धरान, बुटवल र तुलसीपुर उपमहानगरपालिकामा समेत एमालेले अग्रता लिइरहेको छ ।
विराटनगर महानगरपालिकामा भने काग्रेस अगाडि छ ।

Share.

About Author

Leave A Reply