विपी स्मृति दिवसमा कांग्रेसको विविध कार्यक्रम

0

साउन ६, काठमाडौं ।
नेपाली राजनीतिको शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको ३५ औँ स्मृति दिवस शुक्रबार नेपाली कांग्रेस र उसका भ्रातृसंगठनले विविध कार्यक्रम गरि मनाउदैछन् ।

केन्द्रीय कार्यालय सानेपा, बिपी सङ्ग्रहालय सुन्दरीजललगायत ठाउँमा कांग्रेसले विपी स्मृतिसभाको आयोजना गरेको छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान अहिले पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ ।

संविधान कार्यान्वयन र राजनीतिक अस्थिरतामा अहिले पनि विपीको आदर्श, मूल्य र मान्यता उत्तिकै सान्दर्भिक छ ।

विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिवार्चित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा स्थापित थिए ।

विसं २०१५ सालको आमनिर्वाचन पश्चात १८ महिना नेपालका प्रधानमन्त्री भएका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व प्रदान गरे ।

भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित कोइरालाले आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली कांग्रेसको स्थापना गरे ।

विसं २००३ सालमा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो ।

विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् आठ वर्ष कैदमा राखिएका कोइरालाले त्यसपछि लामो समयसम्म निर्वासनमा बसी २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्किए ।

नेपाल फर्कने क्रममा कोइरालालाई तत्कालीन सरकारले विमानस्थलबाटै पक्राउ गरी देशद्रोहको अभियोगमा कैद ग¥यो ।

कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी, बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् ।

कोइरालाका दोषी चश्मा, श्वेतभैरवी कथा सङ्ग्रहका साथै आफ्नो कथा र जेल जर्नल आत्मबृतान्त एवम् जीवनी सङग्रह प्रकाशित छन् ।
कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

Share.

About Author

Leave A Reply