मलेसिया ५८ रनमा अलआउट, कप्तान सन्दिपले लिए पाँच विकेट

0

साउन ३, काठमाडौं ।

कप्तान सन्दिप लामिछानेले पाँच विकेट चड्काएपछि आईसीसी यू–१९ विश्वकपको एसियाली छनोट प्रतियोगितामा मलेसिया ५८ रनमा अलआउट भएको छ ।

सिंगापुरको दलाङस्थित सिंगापुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसिया २२ दशमल ५ ओभरमा ५८ रन बनाउँदासम्म मात्रै क्रिजमा टिक्न सक्यो ।

मलेसियाका कुनै पनि ब्याटसम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । तीन जना शून्य रनमा आउट भए ।

८ दशमल ५ ओभर बलिङ गरेका लामिछानेले ५ विकेट लिन १७ रन खर्चिए र एक मेडन राखे ।

पवन सर्राफले ३, सन्दिप सुनार र राजेश महतोले १÷१ विकेट लिए ।

५९ रनको लक्ष्य भेट्याउन नेपालले जवाफी व्याटिङ गर्नेछ ।

सिंगापुरविरुद्ध धारिलो बलिङ गरेको नेपालले मलेसियाविरुद्ध पनि त्यही लय कायम राखेको हो ।

सोबारको खेलमा कमजोर ब्याटिङ गरेको नेपालले मंगलबार त्यसमा निकै सुधार गर्नु आवश्यक छ ।

नेपाल प्रतियोगितामा लगातार दोस्रो जीतको खोजिमा रहँदा मलेसिया पहिलो जीत निकाल्ने योजनामा छ ।

नेपालले हिजो सिंगापुरलाई ४ विकेटले पराजित गर्दा मलेसिया अफगानिस्तानसंग ८ विकेटले पराजित भएको थियो ।

मंगलबारै अर्को खेलमा अफगानिस्तान र सिंगापुरवीच प्रतिस्पर्धा भइरहेको छ ।

नेपाल र सिंगापुरसँगै अफगानिस्तान र मलेसियासम्मिलित प्रतियोगिताको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छानिने छन् ।

डबल राउन्ड रोबिनमा हुने खेलमा नेपालले पर्सि अफगानिस्तानसँग खेल्नेछ ।

लिगमा सर्वाधिक अंक ल्याउने टोली विजेता हुनेछ ।

मलेसिया र सिंगापुर एसियाली छनोट पार गरेर प्रतियोगितामा आएका हुन । नेपाल र अफगानिस्तानलाई सिधै विश्वकप छनोट खेल्न दिइएको हो ।

डेढ वर्षअघि बंगलादेशमा भएको यू–१९ विश्वकपमा नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । अफगानिस्तान एक दिवसीय अन्र्तराष्ट्रिय मान्यताप्राप्त राष्ट्र हो ।

Share.

About Author

Leave A Reply