मन्त्रीपरिषद विस्तारमा अझै आलटाल, सत्तारुढको आन्तरिक किचलो वाधक

0

साउन ६, काठमाडौं ।
व्यवस्थापिका संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको डेढ महिना भइसक्दा पनि मन्त्रीपरिषद बिस्तार हुन सकेको छैन ।

कांग्रेस र नेकपा माओबादी केन्द्रले पार्टी भित्रकै आकांक्षी र सरकार समर्थित दलहरुको सन्तुलन मिलाउन नसक्दा मन्त्रीपरिषद बिस्तार हुन नसकेको हो ।

कांग्रेसको आसन्न केन्द्रिय समिति बैठक र माओबादीको केन्द्रिय सचिबालयको बिस्तारित बैठक लम्बिएकाले मन्त्रीपरिषद बिस्तारमा ढिलाई भएको देउवा निकट नेताहरुले बताएका छन ।

माओबादीले भने मन्त्रीपरिषद प्रधानमन्त्री र कांग्रेसको कारणले रोकिएको बताउँदै आएको छ ।

माओबादी प्रवक्ता पम्फा भूषालले प्रधानमन्त्रीले माग्ने बित्तिकै आफ्नो पार्टीबाट मन्त्री हुनेहरुको नाम बुझाउने जानकारी दिइन ।

कांग्रेस–माओबादी कार्यदलले मन्त्रालयको भागबण्डा गरेसके पनि पार्टी भित्रको गुटबिबाद मिल्न नसकेकाले ढिलाई भएको बुझिएको छ ।

कांग्रेस नेता रमेश लेखकले शनिबार शुरु हुने केन्द्रिय समिति बैठक पछि मात्रै मन्त्रीपरिषद विस्तार हुने बताइरहँदा देउवा निकट अर्का नेता मीन विश्वकर्माले केन्द्रिय समिति बैठक मन्त्रीपरिषद बिस्तारको कुनै सम्बन्ध नरहेको दाबी गरे ।

मन्त्रीपरिषद बिस्तार प्रधानमन्त्रीको अधिकार भएकाले पार्टीले हस्तक्षेप नगर्ने उनको जिकिर छ ।

सरकारमा संघीय समाजबादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीलाईसमेत सहभागी गराउने भनिए पनि कांग्रेसले १३ र माओबादीले ९ मन्त्रालय सम्हाल्ने सहमति गरिसकेकाले सम्भावना कम देखिएको छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुने कुनै रहर बाँकी नरहेको स्पष्ट गरिसकेका छन ।

राप्रपा अध्यक्ष कमल थापाले भने रोजाईका कम्तिमा ४ मन्त्रायल पाए सरकारमा सहभागी हुने बताउँदै आएका छन ।

राप्रपाको जारी केन्द्रिय समिति बैठकले सरकारमा सहभागीता, संविधान संशोधन, तेस्रो चरणको स्थानीय निर्वाचनलगायतको बिषय टुङ्गो लगाउने छ ।

Share.

About Author

Leave A Reply