भरतपुर १९ को विवादमा आज पनि सर्वोच्चमा सुनुवाई हुँदै

0

साउन ८, काठमाडौं ।

चितवन भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आइतबार हुँदैछ ।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा गएको २ गते समय अभाव ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दाको सुनुवाई हुन लागेको हो ।

आइतबार अन्तिम फैसला आउन सक्ने अनुमान गरिएको छ ।

भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा यसअघि ४ पटक सुनुवाइ सरिसकेको छ ।

गएको असार २६ गते सुनुवाइका लागि इजलास तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । असार २३ गते न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा सुनुवाइ शुरु भए पनि नभ्याएर असार २६ गते पेसी तोकिएको थियो ।

त्योभन्दा पहिला तत्कालिन कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो ।

आदेश अनुसार अदालतमा च्यातिएका मतपत्रसहित अरू कागजपत्र गएको असार १३ गते अदालतमा पेश गरिएको थियो । मतगणना अन्तिममा पुगेका बेला गएको जेठ १४ गते राती माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नम्बर १९ मा पुनःमतदान गर्ने निर्णय गरेको थियो ।

आयोगको निर्णयका विरुद्ध अधिवक्ता तुलसी पाण्डे र एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

रिट निवेदन माथिको पहिलो चरणको सुनुवाइमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।

Share.

About Author

Leave A Reply