बिराटनगरको प्रमुखमा कांग्रेस विजयी, बाँकी ३ मा एमाले अगाडि

0

असार २५, काठमाडौं ।
दोस्रो चरणमा निर्वाचन भएको एक मात्र महानगरपालिका बिराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले बाजी मारेको छ ।
दोहोरो गठबन्धनलाई हराउँदै काँग्रेसले महानगरको मेयर र उपमेयर दुवै पद जितेको हो ।
शनिबार सम्पन्न मतपरिणाम अनुसार मेयरमा काँग्रेसका भीम पराजुली २३ हजार ३१ मतका साथ प्रमुख निर्वाचित भए ।
यस्तै उपमेयरमा पनि काँग्रेसकै इन्दिरा कार्की २० हजार एक सय ८६ मत ल्याएर निर्वाचित भइन ।
मेयरमा पराजुलीका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका विनोद ढकाकाले १७ हजार तीन सय २१ मत ल्याए ।
एमालेलाई फोरम लोकतान्त्रिकको साथ थियो ।
यस्तै संघीय समाजवादी फोरम र माओवादीका साझा उम्मेदवार उमेश यादव तेस्रो स्थानमा सीमित भए ।
उपमेयरमा कार्कीकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११ हजार ५ सय ४४ मत ल्याउँदा फोरम लोकतान्त्रिककी सूची चौधरी तेस्रोमा रहिन ।
महानगरपालिकामा नेपाली कांग्रेसको यो दोस्रो जित हो ।
यसअघि पहिलो चरणमा ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसकै चिरीबाबु महर्जन विजयी भएका थिए ।
काठमाडौं र पोखरा महानगरपालिका भने एमालेले जितेको छ ।
भरतपुर महानगरपालिकामा विवादका कारण अहिलेसम्म परिणाम आउन सकेको छैन ।
अर्को कान्छो महानगरपालिकामध्येको वीरगञ्ज महानगरपालिकामा भने तेस्रो चरणमा निर्वाचन हुनेछ ।
दोस्रो चरणमा निर्वाचन भएका ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमध्ये अब ३ वटाको मात्र अन्तिम नजिता आउन बाँकी छ ।
सुनसरीको धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा र कञ्चनपुरको पुर्नवास नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । यी तीनै तहमा एमालेको अग्रता छ ।
दोस्रो चरणको निर्वाचनमा माओवादी केन्द्र ३८ सिटमा सीमित भएको छ भने काँग्रेसले १ सय २२ तहमा जितेको छ ।
१ सय ४८ तहमा जितेको एमालेले अग्रता लिएका तीनै तहमा जिते उसको जित संख्या १ सय ५१ पुग्नेछ ।
गणना चलिरहेका तीनै तहको नतिजा आइतबार साँझसम्म आइसक्ने आयोगले जनाएको छ ।

Share.

About Author

Leave A Reply