पुनर्निर्माण प्राधिकरण बार्षिक बजेट र योजना बनाउँदै

0

असार २८, काठमाडौं ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक  बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बस्ने बैठकमा तीन वटा प्रस्ताव पारित गरिनेछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि निर्देशक समितिको यो पहिलो बैठक हो ।

प्राधिकरणको निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।

बैठकमा आउँदो आर्थिक वर्ष २०७४÷७५ को बजेट, प्राधिकरणको केन्द्रको संरचनामा परिवर्तन एवम् भूकम्प कम प्रभावित जिल्लामा जिल्ला समन्वय समिति सचिवालयको कार्यालय खोल्ने कार्यसूची पेस हुने प्रवक्ता यामलाल भुषालले जानकारी दिए ।

प्राधिकरणको गएको २५ गते बसेको कार्यकारी समिति बैठकले निर्देशक समितिमा पेस गर्ने आउँदो आर्थिक वर्षको विस्तृत कार्ययोजना पारित गरेको थियो ।

निर्देशक समितिले प्रस्ताव पारित गरेपछि कार्यान्वयन गर्ने व्यवस्था पुनर्निर्माणसम्बन्धि ऐन र नियमावलीमा छ ।

प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाबाट केन्द्रमा दर्ता भएका सबै गुनासो फछ्र्यौट गरिसकेको छ ।

३१ जिल्लाका प्रारम्भिक सर्वेक्षणबाट लाभग्राहीको सूचीमा सिफारिस भएकाको सङ्ख्या सात लाख ६१ हजार ५ सय ३२ पुगेको छ ।

साथै प्रवलीकरण गर्नुपर्ने लाभग्राही १९ हजार आठ सय ६६ छन् । प्रवलीकरणका लागि छानिएका लाभग्राहीले एक लाख अनुदान पाउने व्यवस्था छ ।

Share.

About Author

Leave A Reply