इटहरी उपमहानगरमा पनि एमाले विजयी, अव ११ तहको नतिजा आउन बाँकी

0

असार २३, काठमाडौं ।
सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेमा द्वारिकलाल चौधरी मेयर र उपमेयरमा लक्ष्मी गौतम विजयी भएका छन ।

शुक्रबार बिहान सकिएको मतगणना अनुसार चौधरीले २२ हजार ६ सय ८९ र गौतमले २१ हजार ८४२ मत ल्याएर बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चौधरीका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९८५ र गौतमकी प्रतिद्वन्द्वी कांग्रेसकी बिमला ढकालले १८ हजार ३५२ मत ल्याइन ।

मेयरमा विजयी चौधरीको स्थानीय निकायमा यो तेस्रो इनिङ हो ।

चौधरीले २०४९ साल र ०५४ सालमा हाँसपोसा गाउँ विकास समितिको अध्यक्ष जितेका थिए ।

इटहरी उपमहानगरपालिका बन्दा हाँसपोसासहित पकली, एकम्बा र खनार मिलेर बनेको थियो ।

उपमेयरमा विजयी गौतम लामो समयदेखि पार्टीमा सक्रिय रहे पनि नेतृत्वमा पुगेको पहिलो पटक हो ।

ईटहरीसँगै एमालेले ७ उपमहानगरमध्ये ४ उपमहानगरमा जितेको छ ।

यसअघि एमालेले रुपन्देहीको बुटवलमा काँग्रेस–माओवादी गठबन्धनलाई पछि पार्दै विजयी भएको थियो ।

यस्तै दाङको घोराही र तुल्सीपुर उपमहानगरमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएका छन् ।

दोस्रो चरणमा एमालेले अहिलेसम्म १ सय ४५ स्थानीय तहमा जितेको छ । एमालेले कम्तिमा १ सय ७० देखि १ सय ९५ तहमा जित्ने अनुमान गरेको थियो ।

दोस्रो चरणमा असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा रहेका ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएको थियो ।

१ सय ५० वटा तहमा जित्ने अनुमान गरेको काँग्रेसले अहिलेसम्म १ सय १८ तहमा मात्र जितेको छ ।

माओवादी केन्द्रले पहिलो र दोस्रो चरणमा गरी १ सय ५० सिट कटाउने लक्ष्य राखेको थियो ।

६ वटा प्रदेशको ५ सय ८८ वटा स्थानीय तहमा निर्वाचन सकिँदा माओवादीले अहिलेसम्म ८१ तहमा जित हासिल गरेको छ ।
यसमा नगरपालिकाको संख्या एकदमै न्यून छ ।

अब ११ वटाको मात्र अन्तिम परिणाम आउन बाँकी छ ।

मोरङको बिराटनगर महानगरपालिका, सुनसरीको धरान तथा कैलालीको धनगढी उपमहानरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।

बिराटनगर र धनगढीमा काँग्रेसको अग्रता छ भने धरानमा एमालेको अग्रता छ ।

यसैगरी, कञ्चनपुरको भीमदत्त, पुर्नवास, झापाको मेचीनगर, अर्जुनधारा, दमक नगरपालिकाको पनि अन्तिम परिणाम आउन बाँकी छ ।

यस्तै, मोरङको धनपालथान र रुपन्देहीको कोटहीमाइ गाउँपालिकाको नतिजा आउन बाँकी रहेको छ ।

नजिता आउन बाँकी तहमध्ये एमालेले ५, काँग्रेसले ५ र संघीय समाजवादी फोरमले १ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा रहेका ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएको थियो ।

पहिलो चरणको निर्वाचनमा एमाले १२५, काँग्रेस १०४ र माओवादी ४६ स्थानीय तहमा विजयी भएका थिए ।

Share.

About Author

Leave A Reply