आज निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुने !

0

साउन ५, काठमाडौं ।
सरकारले बिहिबार निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने तयारी गरेको छ ।

संघीय संसद् र प्रदेशसभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि क्षेत्र निर्धारण गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोग गठन गर्न लागिएको हो ।

आउँदो माघ ७ गतेभित्र सबै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहिबार दिउँसो बस्ने मन्त्रपरिषद् बैठकबाट आयोग गठनको टुङ्गो लगाउने तयारी भईरहेको मन्त्रीपरिषद स्रोतले जनाएको छ ।

संविधानबमोजिम सर्वोच्च अदालतका सेवा निवृत्त न्यायाधीशको अध्यक्षतामा गठन हुने आयोगमा भूगोलविद्, समाजशास्त्री वा मानवशास्त्री, प्रशासनविद् वा कानूनविद् गरि तीन जना सदस्य रहने व्यवस्था छ ।

आयोगमा सरकारको विशिष्ट श्रेणीका अधिकृत सदस्यसचिव रहनेछन् ।

आयोग गठनका लागि सत्तारूढ दलबीच विभिन्न चरणमा छलफल भइसकेको छ ।

सरकारले यस सम्बन्धमा प्रमुख प्रतिपक्ष दलसँग पनि आजै छलफल गर्ने तयारी गरेको छ ।

निर्वाचन क्षेत्र निर्धारण गर्दा क्षेत्रको जनसंख्याको घनत्व, भौगोलिक विशिष्टता, प्रशासनिक एवं यातायातको सुगमता, सामुदायिक तथा सांस्कृतिक पक्षलाई समेत ध्यान दिनुपर्नेछ ।

निर्वाचन आयोगका पदाधिकारीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आयोग गठन गर्न दबाब दिएका थिए ।

प्रमुख प्रतिपक्षी एमालेले पनि तत्काल क्षेत्र निर्धारण गर्न माग गरेको थियो ।

आयोगले आउँदो असोजको अन्तिम हप्तामा प्रदेश सभाको, कात्तिक दोस्रो हप्तामा राष्ट्रिय सभाको र मङ्सिरको पहिलो हप्तामा प्रतिनिधि सभाको निर्वाचन गर्न उपयुक्त हुने जनाएको छ ।

निर्वाचन मिति घोषणा गर्नुअघि यही साउन १५ गते सम्ममा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन र अन्य कानून त्यसअघि नै आवश्यक पर्ने आयोगले बताउँदै आएको छ ।

संविधानअनुसार प्रतिनिधि सभामा २ सय ७५ सदस्य रहन्छन् ।

प्रतिनिधिसभामा भूगोल र जनसंख्याका आधारमा निर्धारण हुने १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने १६५ र समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने १ सय १० सदस्य रहन्छन् ।

त्यस्तै, संविधानले ५९ सदस्यीय राष्ट्रिय सभाको पनि व्यवस्था गरेको छ ।

अहिले २ सय ४० निर्वाचन क्षेत्र कायम छन् भने ३ सय ३५ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित र २६ जना मन्त्रीपरिषदबाट मनोनयन  गरी ६ सय १ सदस्यीय व्यवस्थापिका–संसद्को व्यवस्था छ ।

Share.

About Author

Leave A Reply