आईसीसी यु–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोट खेलमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ ।
सिंगापुर क्रिकेट क्लब पादाङमा टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले २५ ओभरमा दुई विकेटको क्षतिमा १०४ रन बनाएको छ ।
पवन शर्राफले आफ्नो पहिलो ओभरमै विकेट लिए ।
पवनले अफगानिस्तानका ओपनर नाभिद ओबैडलाई दोस्रो विकेटको रुपमा ३३ रनमा आउट गराए ।
यसअघि साहब आलमले अर्का ओपनर इमरान मोहमदीलाई ४३ रनमा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
यसअघि खेलेका दुबै खेल जितेका नेपाल र अफगानिस्तान आजको खेलमा जीत हासिल गरी तालिकाको शीर्ष स्थान सुरक्षित गर्ने योजनामा छन ।
नेपालले पहिलो खेलमा आयोजक सिंगापुरलाई ४ र दोस्रो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।
अफगानिस्तानले पनि सिंगापुर र मलेसियालाई नै पराजित गरेको थियो ।
प्रतियोगितामा नेपाल दोस्रो स्थानमा छ । अफगानिस्तान नेट रनरेटको पहिलो स्थानमा छ ।
नेपाली यू–१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक विनोद दासले अफगानिस्तानविरूद्ध उचित रणनीतिका साथ मैदानमा ओर्लिएको बताए ।
नेपालले सिंगापुर र मलेसियासँग प्रतिस्पर्धा गर्दा नेपाली ब्याट्सम्यानहरू चल्न सकेका थिएनन् ।
अग्रपंक्ति र मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा झिनो लक्ष्य पाए पनि नेपालले सिंगापुरसँग ६ र मलेसियासँग ५ विकेट गुमाएको थियो ।
अर्को खेलमा मलेसिया सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ ।
डबल राउण्ड रोविन लिगको आधारमा खेलाइने खेलको विजेताले विश्वकपमा स्थान बनाउनेछ ।